एकीकरणबाट ‘समाजवादी पार्टी नेपाल’ को गठन
अर्जुन, बालिका । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले आज पार्टी एकीकरण गरी नयाँ पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा दुवै पार्टीले संयुक्त रुपमा आयोजना गरको घोषणा सभाबाट दुई पार्टी एकीकरण गरी ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको हो ।
घोषणा सभामा नवगठित समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुवै पार्टीको एकतापछि समाजवादी पार्टी देशकै बलियो शक्ति बनेको दाबी गर्नुुभयो ।
अध्यक्ष डा. भट्टराईले दुई पार्टी एकतापछि सबैखाले अधिकार प्राप्तिका नयाँ ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।
नवगठित पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवम् उप–प्रधानमन्त्री उपेन्द्र यादवले अधिकार प्राप्तिको आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्न दुई पार्टी एकीकरण गरेर समाजवादी पार्टीको निर्माण गरेको बताउनुभयो ।
अध्यक्ष यादवले संघीय गणतन्त्रलाई संस्थागत गर्दै मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन समाजवादी पार्टी सफल हुने दाबी गर्नुभयो ।
अध्यक्ष यादवले राजपालगायत अन्य पार्टीलाई समेत नवगठित समाजवादी पार्टीसँग एकताका लागि आग्रह गर्नुभयो ।
संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रिय समिति अध्यक्षमा उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीहरुको नाम एकीकरण सभामा घोषणा गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्