तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका कोरोना सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु

चितवन । चितवनमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सङ्क्रमित भेटिएको भरतपुर महानगरपालिका वडा नं.६ गीता नगर (केशर बाग)लाई सिल गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘सङ्क्रमितहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने काम सुरु गर्दैछौं, वडालाई सिल गरेर आवतजावत बन्द गराएका छौँ ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले सङ्क्रमितहरू घर आएदेखि नै घरकै माथिल्लो तलमा क्वारेनटाइन निर्माण गरेर बसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘उहाँहरू जेठ ३ गते घर आएदेखि नै घरमै क्वारेनटाइनमा बसेको बुझेको छु, अरूसँग खासै सम्पर्क नभएको बुझिएको छ ।’

उहाँका अनुसार सङ्क्रमितहरू जेठ ३ गते एम्बुलेन्सबाट घर आउनु भएको हो । क्यान्सरको उपचारका लागि बुबा, आमा र छोरा भारत जानु भएको थियो ।

त्यहाँबाट फर्किएपछि उहाँहरूमा सङ्क्रमण देखिएको हो । तीन जनाकै परीक्षण गर्दा आमा बुबामा मात्रै सङ्क्रमण देखिएको हो । छोरामा भने सङ्क्रमण नदेखिएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमण पुष्टि भएसँगै उहाँहरूलाई आज भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा ल्याइएको छ ।

भरतपुर अस्पताल कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । यसअघि सङ्क्रमण पुष्टि भएका मध्ये दुई जना निको भएर घर फर्किनु भएको हो भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ ।

यसअघिका सङ्क्रमित राप्ती नगरपालिकास्थित ब्रह्मा नगरका आमा छोरा निको हुुुुनु भएको हो भने राप्ती नगरपालिका गड्यौलीकी महिला काठमाडौँमै उपचाररत हुनुुहुुुन्छ भने नवलपुरका एक जना पुरुषको पनि भरतपुर कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button