तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा विकास निर्माणको काम र उद्योग सञ्चालनमा ल्याइने

कास्की । विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) का अवधिमा गण्डकी प्रदेशमा उद्योग र निर्माण व्यवसायलाई सञ्चालन गरिने भएको छ ।

प्रदेशमा कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि गठित ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर अपरेसन’ (सिसिएमसी)को बैठकले अत्यावश्यक उद्योग, विकास निर्माण तथा कृषि उत्पादन कार्यलाई सञ्चालन गर्नका लागि मापदण्ड बनाएर तयारी गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको सिसिएमसीले प्रदेशभित्रका ११ वटै जिल्ला प्रशासन कार्यालयले जिल्ला सिसिएमसीमार्फत निर्माण व्यवसायी तथा उद्योग व्यवसायीलाई मापदण्ड पालना गराई व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

लकडाउनका कारणले ठप्प रहेको निर्माण व्यवसाय तथा उद्योग कलकारखाना र कृषि व्यवसाय सञ्चालनका लागि मापदण्ड तयार गरिएको र अत्यावश्यक सुरक्षाका उपाय अवलम्बन गरी जारी मापदण्डअनुसार गर्न निर्देशन दिइएको सिसिएमसीका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो ।

तयार गरिएको मापदण्डमा निर्माण व्यवसायीले शहर बजार तथा घना बस्ती बाहिरका खानेपानी ढल, सिँचाइ, पुल, कल्भर्ड, सडकजस्ता अत्यावश्यक काम शुरु गर्ने, निर्माण सामग्रीको ढुवानी सम्भव भएसम्म रातमा वा समय तोकी उपयुक्त समयमा गर्ने उल्लेख छ ।

काम गर्ने मजदूर तथा जनशक्तिको फोटोसहितको नामावली राख्ने, स्थानीय बस्तीलाई असर नगर्ने गरी मजदूर तथा जनशक्तिलाई सामाजिक दूरी डेढ मिटर कायम गराई निर्माणस्थल नजिकै खाने बस्ने व्यवस्था गर्नुपर्ने जारी मापदण्डमा व्यवस्था गरिएको छ ।

सङ्क्रमण रोकथाम गर्न सचेतना एवं स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, निर्माणस्थलमा अनधिकृत मानिसको प्रवेशलाई रोक लगाउने तथा अनिवार्यरुपमा प्राथमिक उपचारको व्यवस्था मिलाउने, निर्माणस्थलमा कार्यरत कुनै व्यक्तिलाई ज्वरो, रुघाखोकी तथा स्वास फेर्न गाह्यो भएमा त्यस्ता व्यक्तिलाई मापदण्डअनुसारको क्वारेन्टाइन कक्ष निमाण गरी राख्ने र स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने व्यवस्था निर्माण व्यवसायीले मिलाउनुपर्नेछ ।

त्यसैगरी उद्योगी व्यवसायीले खाद्यान्न तथा सोसँग सम्बन्धित उद्योग व्यवसाय सञ्चालन गर्ने, उद्योगबाट उत्पादित वस्तु बजारसम्म पु¥याउने, उद्योगका कच्चा पदार्थ बोकेका सवारीसाधन र तयारी वस्तु बोक्ने सवारीसाधन प्रत्येक पटक उद्योग कलकारखानामा प्रवेश गर्दा ‘डिसइनफेक्सन’ गराएर मात्र प्रवेश गराउने र उद्योग परिसरको निगरानीको लागि सिसिटिभी क्यामेराको गर्ने उल्लेख छ ।

कृषकलाई खेतीबाली लगाउन आवश्यक पर्ने मल, बीउ, विषादी, औजार उपकरण खरीद गर्न र ढुवानीका लागि पसल खोल्न र सवारीसाधन सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासनले समय तोकी सहजीकरण गर्ने मापदण्डमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लाभित्र निर्माण सामग्री, उद्योगका कच्चा पदार्थ, खाद्य पदार्थ प्याकिङ तथा ¥यापिङसम्बन्धी आवश्यक सामग्री तथा तयारी वस्तु ओसारपसार गर्न आवश्यकताअनुसार सम्बन्धित स्थानीय तहसँग समन्वय गरी लोड, अनलोड र ढुवानीको समय तोकी व्यवसायीलाई सवारी साधन प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

दुई वा दुईभन्दा बढी जिल्लाबीच निर्माण सामग्री, उद्योगका कच्चा पदार्थ, खाद्य सामग्री प्याकिङ तथा आवश्यक सामग्रीको तयारी तथा ओसारपसार गर्नुपर्ने अवस्थामा ती सामग्रीको उद्गमस्थल वा गन्तव्यस्थलको जिल्ला प्रशासन कार्यालयले लोड, अनलोड र ढुवानीका लागि व्यवसायीलाई सवारी अनुमति प्रदान गर्ने जारी मापदण्डमा व्यवस्था गरिएको छ ।

त्यसैगरी निर्माण व्यवसायी र उद्योगीको मागअनुसार उपयुक्तता हेरी सिमेन्ट, रड, ग्याबिन, तार/जाली, अलकत्रा, पाइप, फलामजन्य तथा बिजुलीका सामानलगायतका हार्डवयर सामग्रीका होलसेल पसल तथा वर्कसप जिल्ला प्रशासनले खोल्ने व्यवस्था मिलाउने छ । मजदूर तथा जनशक्तिलाई निर्माणस्थल तथा उद्योगस्थलसम्म ल्याउनका लागि मजदूर रहे बसेको जिल्ला प्रशासनले मजदूर तथा जनशक्तिको नामावलीका आधारमा मिति, समय र स्थान तोकी व्यवसायीलाई सवारी पास उपलब्ध गराउने जारी मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button