तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा संचालित खानेपानी आयोजना लक्ष्य भन्दा बढी प्रगती

इलाम / इलाममा संचालित खानेपानी आयोजना सम्झौता भएको चार महिनामा लक्ष्य भन्दा बढी प्रगती भएको जनाइएको छ । इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणको ठेक्का लिएको रमण कन्स्ट्रक्सन एन्ड जिआइइटिसी जेभीले आयोजनाको भौतिक प्रगति १८ प्रतिशत भइसकेको जानकारी दिएको छ । चार महिनामा ७ प्रतिशत मात्रै काम सक्नु पर्ने भएपनि लक्ष्यभन्दा बढी नै गरेको निर्माण कम्पनीका प्रबन्धक तथा इन्जिनियर मेघराज धिमालले बताउनु भयो ।आवश्यक सामाग्री पाइप, सिमेन्ट, गिटी, बालुवा, इँटालगायत भण्डारण गरिरहेको छ । ४३ किलोमिटर पाइप र त्यसको फिटिङ्स समेत आइसकेको धिमालको भनाइ छ । इलाम नगरपालिका ५ बरबोटेमा साइड कार्यलय स्थापना , कमचारी व्यवस्थापनको कार्य सम्पन्न गरेको जनाइएको छ ।
पानीको ट्यांकी रहने स्थानको माटो परीक्षण, गिटी, बालुवा, पाइपलगायत सबै वस्तुको प्रयोगशाला परीक्षण भएको र केहीको रिर्पोट आउन बाकी रहेकोले अब करीब एक साता पछि काम सुरु हुने आयोजनाका इन्जिनियर विवेक झाले बताउनु भएको छ ।
जिल्लाकै ठुलो खानेपानी आयोजनाको लागि एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा ५७ करोड ९५ लाख ७ हजार ४ सय ४७ रुपैयामा खानेपानी आयोजनाको ठेक्का लागेको हो । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्नेछ भने २५ प्रतिशत नगरपालिका र ५ प्रतिशत उपभोक्ता बाट उठाइएको छ । उपभोक्ताबाट सुरुमा उठाएको १५ हजार २ सय बाहेक अन्य शुल्क तिर्न नपर्ने जनाइको छ । सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँ थियो सोही अनुसार इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितीले उपभोक्ताबाट ४ करोडभन्दा बढी रकम उठाइसकेको छ । इलाम नगरपालिकाले नगर विकास कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको छ । २० वर्षभित्र ५ प्रतिशतको सहुलियत ब्याजदरमा नगरपालिकाले यो ऋणको ब्याज तिर्ने सम्झौता यस अघि नै भइसकेको छ।
आयोजना सम्पन्न भएपछि इलाम वजारमा २४ सै घण्टा पानी झर्ने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताउनु भयो । खानेपानी आयोजनाका मुहान व्यवस्थापन भइसकेको जनाइएको छ । गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट १०÷१० र सुम्बेकको भाँडीखोलाबाट प्रतिसेकेन्ड ५ लिटर गरी जम्मा ४१ लिटर प्रतिसेकेन्ड पानी आउने समितिले जनाएको छ । जस्बिरेमा रहेको पुरानो ट्रिटमेन्ट प्लान्ट मर्मत र नयाँ प्लान्ट निमार्ण गरिने भएको छ ।
पानी जम्मा गर्न इलाम बजारको गुम्बाडाँडा, महेन्द्ररत्न क्याम्पस, गोलाखर्क र तिल्केनीमा नयाँ ट्यांकी निर्माण गरिनेछ । गढी, टुँडिखेल, शिखरनगर र कर्मचारी मिलन केन्द्रमा रहेका पुराना ट्यांकी मर्मत गरी प्रयोग गरिने भएको छ । मुख्य लाइनमा डेढ सय किलोमिटर र वितरण लाइन २० किलोमिटर पाइप आवश्यक पर्ने जनाइएको छ ।
इलाम नगरमा अहिले २२ देखि २३ लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता भएपनि ८ देखि १० लिटर मात्र खानेपानी आइरहेको इलाम नगरपालिकाले जनाएको छ ।आयोजना सम्पन्न भए २८ हजार १ सय ७२ उपभोक्ता लाभान्वित हुनेछन । आगामी सन २०२१ को मार्च ३१ सम्म आयोजना सम्पन्न गर्ने सम्झौता छ । आयोजना सम्पन्न भएको १ वर्ष सम्म निर्माण कम्पनीले मर्मत सम्भार गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button