तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बेचिएका १२ बालबालिकाको उद्द्वार 

भैरहवा । भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल(भारतमा मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरूले सहारा दिने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।  

उहाँका अनुसार उद्धार गरिएकाहरूमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इन्डियाले भैरहवास्थित विभिन्न संस्थाहरूको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो। 

विगतदेखि पारिवारिक, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पन्जामा परेर भारत जाने र त्यहाँ बेचबिखनमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

उद्धार गरिएका बालबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १/१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न सङ्घसंस्था, जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button