तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकहरूलाई  मुक्तिनाथसम्म तीर्थयात्रा  

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-४ को कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रामा पठाएको छ । वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रा गराउन लागेको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको छ । उहाँहरूलाई मुस्ताङमा रहेको मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष ढकालले बताउनु भएको छ । 

तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता रहेको छ । शुक्रबार दिउँसो बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त टोलीलाई तीर्थयात्रा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।

वृद्धावस्थामा ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएकोले उहाँहरूलाई धार्मिक यात्रामा लगिएको वडाध्यक्ष ढकालको भनाइ छ । गत वर्ष ३० जना ज्येष्ठ नागरिकहरूलाई काठमाडौँ स्थित पशुपतिनाथ लगायतका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइएको थियो । विगतका वर्षहरूमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत वडाले जाडो महिनामा न्यानो लुगा वितरण, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण लगायतका विविध कार्यक्रम गर्दै आइरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button