तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा दुई हजारभन्दा बढीमा डेंगु संक्रमण

चितवन । चालु आर्थिक बर्ष २०८१को असारदेखि असोजसम्म चितवनमा दुई हजार २०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार छ हजार ४६९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये एक हजार ७२८ जना चितवनका हुन् भने बाँकी ५६७ जना बाहिरी जिल्लाका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले अन्य पालिकामा भन्दा यस वर्ष भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण बढी भएको बताउनुभयो  । जस अनुसार भरतपुर महानगरमा हालसम्म ७५७ जनामा डेङ्गुको सङ्क्रमण , यस्तै, इच्छाकामना गाउँपालिकामा हालसम्म ४४८ जनामा डेङ्गु देखिएको छ । उहाँले भन्नुभयो, “डेङ्गुको सङ्क्रमण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रमा बढी छ ।” सङ्क्रमण बढेसँगै सङ्क्रमित सबै क्षेत्रमा सचेतना बढाइएको उहाँले बताउनुभयो  ।

जनस्वास्थ्य कार्यालय चितवनले अद्यावधिक गरेको दैनिक प्रतिवेदनअनुसार रत्ननगर नगरपालिकामा ३२३, खैरहनीमा ८८, कालिकामा ५०, राप्तीमा ४४ र माडीमा १८ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

जनस्वास्थ्य कार्यालयले सरकारी अस्पतालहरू र निजी अस्पताल र पोलिक्लिनिकहरुबाट आएको तथ्याङ्कका आधारमा हरेक दिन २४ घण्टामा विवरण अद्यावधिक गर्ने गरेको छ ।

चितवनमा डेङ्गुबाट यस आर्थिक वर्षमा एक जनाको मृत्यु भएको छ ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । जसमध्ये २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button