तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्पअगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नं.को कनकाई माई पाथीभरा बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका– ७ का ५५ वर्षीय पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

दुर्घटनापश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डिएसपी चन्दले बताउनु भयो । भीड नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

बस चालक गौरादह नगरपालिका–१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button