तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकाको मृत्यु भएको हो ।

दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–७ का ५५ वर्षीय पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

दुर्घटना पश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो ।
बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् ।

घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । दुर्घटना कारण पूर्व पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध बनेको थियो । उक्त अवधिमा प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आवतजावतका लागि व्यवस्था मिलाइएको थियो ।

बस चालक ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button