तपाईँ सुन्दै हुनुहुन्छः

सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी हुने

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, व्यापारिक सांस्कृतिक, एवं पर्यटकीय सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी मेला हुने भएको छ ।

कार्तिक १ गते पूर्णिमाको दिनदेखि सुरु हुने सिलदेवी मेलामा महिला/पुरुष अन्तर्लापिका भलिबल, देउडा र कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघ बझाङका उपाध्यक्ष शङ्कर रसाइलीले बताउनुभयो । उद्योग वाणिज्य संघ बझाङले आज पत्रकार सम्मेलन गर्दै मेलाको अवसरमा गरिने खेलकुद लगाएतका कार्यक्रमहरूको बारेमा पत्रकारहरूलाई जानकारी दिएको हो ।

कार्तिक १ गतेबाट सुरु हुने सिलदेवी मेलाको अवसरमा सुरु हुने कार्यक्रमहरू कार्तिक ७ गते सम्म चल्ने छन् ।

मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिता अन्तरपालिका स्तरीय हुने आयोजकले जनाएको छ । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ । द्वितीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ भने सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ । पुरुष भलिबलका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।

यस्तै महिला भलिबलतर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, द्वितीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५ सय ८१ रहेको छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।

पुरुष भलिबलमा ३० टिम र महिला भलिबलमा २० टिम सम्म पुग्ने अनुमान आयोजकले गरेको छ । सिलदेवी मेलामा आयोजना गरिने भलिबलले बझाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेको आयोजकले जनाएको छ ।

स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि देउडा प्रतियोगिता
स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सिलदेवी मेलामा अन्तरपालिका महिला÷पुरुष देउडा प्रतियोगिता आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ बझाङले देउडा संस्कृति जोगाउन स्थानीय वेशभूषा, मौलिकता र पहिरनमा देउडा प्रतियोगिता आयोजना गरेको हो ।

हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र मौलिकताको प्रचारप्रसारको लागि देउडा प्रतियोगिता आयोजना गरिएको उद्योग वाणिज्य संघ बझाङका महासचिव नरेन्द्र खड्काले बताउनुभयो ।

बझाङको मौलिक परम्पराका रुपमा रहेको देउडा गीतको संरक्षण र विकास गर्ने उद्देश्यले देउडा प्रतियोगिता आयोजना गरिएको महासचिव खड्काको भनाई छ ।

सहभागी देउडियाबाट प्रथम हुनेलाई, ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई १० हजार पुरस्कार रहेको छ ।

स्थानीय बालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्न स्थानीय उत्पादनको प्रदर्शनी
सिलदेवी मेलामा स्थानीय उत्पादन (कृषि मेला) प्रदर्शनी आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले मेलामा स्थानीय उत्पादनको प्रदर्शनी (कृषि मेला) आयोजना गरिएको हो ।

प्रदर्शनीमा किसानहरूले आफै उत्पादन गरेका रैथाने वस्तुहरूका स्टल राखिने उद्योग वाणिज्य संघ बझाङका महासचिव नरेन्द्र खड्काले बताउनुभयो ।

मेलामा १० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । मेलाको ९० प्रतिशत तयारी सक्किएको आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत देखाइने भएको छ ।

सिलदेवी मेलाको महत्व
एघारौँ शताब्दीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासित काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुली गाड खोलाको बहाब बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।

उक्त भनाइ अनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुरको बीच भागमा रहेको ढुङ्गामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुङ्गा (सिल)लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button