तपाईँ सुन्दै हुनुहुन्छः

‘वर्तमान सरकार जनता र देशप्रति केन्द्रित रहेर अगाडि बढिरहेको छ’

वीरगञ्ज । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार जनता र देशप्रति केन्द्रित रहेर अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पर्साद्वारा आज पर्सागढी नगरपालिको टिकुलियामा दीपावली तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री चौरसियाले देश समस्यामा परेका बेला निकास दिने पार्टी कांग्रेस नै भएको दाबी गर्नुभयो ।

मन्त्री चौरसियाले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई थप सुरक्षित र व्यवस्थित गर्न संविधान संशोधन आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले संविधानलाई थप परिमार्जित गर्ने अभियानमा सरकार जुटेको र संविधान कार्यान्वयनमा देखिएका समस्याको समाधान संशोधनबाटै हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई टीका लगाउनुका साथै गम्छा ओढाएर मन्त्री चौरसियाले पार्टीमा स्वागत गर्नुभएको थियो ।

शङ्कर रायभरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button