तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने धानको जगेर्नासँगै पर्यटनको केन्द्र बन्दै गाभर भ्याली

बाँके । बाँकेको गाभर भ्याली पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र मात्र नभई रैथाने उत्पादनको समेत महत्त्वपूर्ण क्षेत्र बन्दै गएको छ।स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रले थप चर्चा पाएको हो।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ, जसअनुसार गाभर भ्यालीमा पनि रैथाने धान उत्पादनमा पहल गरिएको छ।

गाभर भ्यालीमा अहिले लोपोन्मुख धानका प्रजातिहरूलाई संरक्षण गर्ने अभियान सुरु भएको छ। यो क्षेत्रमा पाइने घैया, गर्भे र अनदी धानहरू लोप हुने अवस्थामा पुगेपछि गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बैजनाथ १ गाभरमा संरक्षणका प्रयासहरू गरिएको बताउनुभयो । अध्यक्ष स्वयम् आफैले पनि चार कठ्ठामा घैया धान, १० कठ्ठामा अनदी धान र १ कठ्ठामा गर्भे धानको बिउ उत्पादनको लागि लगाउनुभएको छ। गाभर क्षेत्रमा एक बिगाह भन्दा बढी क्षेत्रफलमा अहिले यी रैथाने धान लगाइएको छ। यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउन खोजिएको चौधरीको भनाई छ

गाभर भ्यालीमा पर्यटनको विकाससँगै पर्यटकहरू पनि रैथाने उत्पादन अवलोकन गर्न आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार गाभर भ्यालीले पर्यटकीय गतिविधिलाई बढावा दिएको मात्रै छैन, रैथाने बालीहरूको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

रैथाने जातका धानहरूमा मल र पानीको आवश्यकता न्यून हुने भएकाले यी बालीहरू संरक्षण गर्न तुलनात्मक रूपमा सजिलो छ। चौधरीका अनुसार हाइब्रिड धानहरूमा जस्तै धेरै मल र सिँचाइको आवश्यकता नभए पनि रैथाने प्रजातिका धान स्वस्थ र उत्पादनशील हुने गर्छन्। विशेष गरी तिल्की, अनदी, र घैया जस्ता धानमा रासायनिक मलको प्रयोग गर्दा बढी गँजाएर नफल्ने समस्या देखा परेको छ।

गाभर क्षेत्रमा १ बिघा भन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । जसमा घैया र तिल्की धान बिउ उत्पादनको लागि लगाइएको छ भने अनदी धानलाई स्वास्थ्यवर्धक मानिएको छ। भविष्यमा यी रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीले बताउनुभयो।

तिल्की धानको चामल विशेषतः पर्वहरूमा र अतिथि सत्कारका लागि प्रयोग हुने गरेको छ भने अनदी चामल थारु समुदायमा निकै लोकप्रिय छ। घैया धानको चामल स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ र यसलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानको रूपमा पनि हेरिन्छ। यसले गर्दा गाभर भ्यालीमा उत्पादित यी धानहरूलाई संरक्षण गर्ने मात्र नभई व्यावसायिक उत्पादन र बजारीकरणमा पनि ध्यान दिइएको छ।

गाभर भ्यालीको यो विशेषता पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण बन्दै गएको छ । यहाँका रैथाने उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि पहुँच पाउने सम्भावना छ।

यो क्षेत्रमा पर्यटनको विकासले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। स्थानीय उत्पादनहरूको संरक्षणसँगै कृषिमा आधारित पर्यटनको विकासले गाभर भ्यालीको पहिचान बढाउँदै लैजाने अपेक्षा गरिएको छ। रैथाने धान बालीहरूको संरक्षण र प्रवर्द्धनले स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउने र कृषिको क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button