तपाईँ सुन्दै हुनुहुन्छः

दीपावली तथा छठपर्व नजिकिँदै: मध्य तराईका महिलाहरू घर सिँगार्न व्यस्त

बीरगंज । दशै पर्व सम्पन्न हुने क्रमसँगै पर्सा सहित तराई मधेसका जिल्लाहरूमा भव्यरुपमा मनाइने दीपावली तथा छठपर्व नजिकिँदै गएपछि  पर्साका ग्रामीण क्षेत्रका बासिन्दाहरू बर्षाले भत्किएका घरको सरसफाई र लिपपोत गर्दै सिँगार पटारमा जुटेका छन् । 

गत असोज को दोस्रो साता आएको अविरल बर्षाका कारण ग्रामिणक्षेत्रका हजारौँ कच्ची तथा फुसका घरहरू क्षतिग्रस्त भएको र घरका भित्ता छानामा झारपात उम्रेर फोहोर भएका ठाउँलाई सरसफाइ  तथा मर्मत सम्भार गरी लिपपोत गर्न ग्रामिणक्षेत्रका महिलाहरू व्यस्त भएका छन् । 

दसैँको टिका सम्पन्न भएसँगै मौसममा समेत परिवर्तन आएको र दीपावली तथा छठपर्व भित्रिन लागेपछि अधिकांश बासिन्दाहरू लक्ष्मी पूजा तथा छठी माताको व्रतका लागि घरको शृङ्गार पटारमा जुटेको पर्सा पकाहमैनपुरका स्थानीय समाजसेवी रामनारायण कुर्मीले बताउनुभयो । 

बर्षाले क्षतिग्रस्त भएका खरको भित्तालाई मर्मत तथा पुनः नयाँ निर्माण गरेर पहेलो चिम्टियाइलो माटोले लिपपोत गर्नमा ग्रामीण महिलाहरू बिहानैदेखि जुटेको कुर्मीले बताउनुभयो । 

महिलाहरूले माटोमा, गाईबस्तुको गोबर, गहुँको छ्याली वा धानको पराललाई मिसाएर तयार पारिएको माटोले कच्ची घरका भित्ताहरू लिपपोत गरिरहेको जिराभवानी गाउँपालिका वडा न-५ निवासी मैयाँ देवी चौधरीले बताउनुभयो । 

यस बर्ष दशै लाग्दा सम्म पानी परेको कारण घर आँगनको सरसफाइ गरी सुन्दर बनाउन ढिलो भएकाले हतारमा दीपावली र छठको तैयारीका लागि सरसफाईमा जुटेको चौधरीले दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button