तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माई खोला छेउमा चुँडिएको सडक पुनः निर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।

चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माई खोला वारी र पारिबिच बाटोमै रोकिएका थिए । माई खोला पारीका सवारी साधनले माई खोलासम्म यात्रु ल्याउने र वारिका सवारी साधनले वारिसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button