तपाईँ सुन्दै हुनुहुन्छः

मेसिनबाट एकै दिन २ हजार माटाका भाँडा उत्पादन गर्दै नेपालगञ्जका युवा

बाँके । नेपालगन्ज उप–महानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ। परम्परागत रूपमा हातले माटाका भाँडा बनाउने काम धेरै मिहिनेत र समय खर्चिलो हुने समस्या समाधान गर्न जावेदले मेसिनको सहारा लिनुभएको छ।

जावेद अहमदका अनुसार माटाका भाँडा हातले बनाउँदा धेरै फुटेर खेर जाने तथा माग अनुसारको उत्पादन गर्न नसकिने समस्या थियो। उहाँले यस समस्यालाई चिर्दै आधुनिक प्रविधिको प्रयोग गरेर मात्र होइन, गुणस्तरीय उत्पादन पनि सुनिश्चित गर्नुभएको छ । ‘मेसिनले समय बचत मात्र गर्दैन, कामलाई सहज पनि बनाउँछ। थकाइ लाग्ने कामलाई मेसिनले सरल बनाइदिन्छ।’ यो परिवर्तनले उहाँलाई कम समयमै धेरै उत्पादन गर्न सक्षम बनाएको छ । जसका कारण उनले एक दिनमै २ हजारसम्म माटाका भाँडा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले बनाउने माटाका भाँडाहरूमा विभिन्न प्रकारका कुल्लढ र गिलासहरू मुख्य छन्, जसलाई चिया, लस्सी, र दही खान प्रयोग गरिन्छ। यी भाँडाहरू दाङ, कोहलपुर, र नेपालगन्जका विभिन्न स्थानहरूमा होलसेलमा बिक्री भइरहेको छ। जावेदको व्यवसायले नेपालगन्जको स्थानीय बजारमा नयाँ सम्भावना र अवसरको ढोका खोलिदिएको छ। माटाका भाँडाहरूको माग बढ्दै गएकोले उनीहरूको उत्पादन र व्यापार दुबैमा वृद्धि भएको छ।

जावेदको व्यवसायमा माटोको शुद्धता र गुणस्तरमा ध्यान दिइन्छ। यसका साथै, मेसिनबाट विद्युत्‌को सहायताले चल्ने मेसिनले भाँडा बनाउन लाग्ने समय पनि निकै घटाएको छ। पहिले तीन दिन लाग्ने काम अब एक दिनमै सकिन्छ। मेसिनको प्रयोगले उत्पादनमा मात्र होइन, कामदारहरूको थकान कम गर्ने र कामलाई अझै प्रभावकारी बनाउने अवसर पनि दिएको छ।

नेपालगन्ज क्षेत्रमा कुमाल समुदायको बसोबास रहेको छ, जसले परम्परागत शैलीमा माटाका भाँडाहरूको निर्माण गर्दै आएका छन्। यो समुदायको जीविकोपार्जन माटाका भाँडाहरूको उत्पादन र व्यापारमा आधारित छ। तर, परम्परागत शैलीमा उत्पादन गर्दा धेरै समय लाग्ने र परिश्रमको कारणले उनीहरूको जीवनस्तरमा विशेष परिवर्तन आउन सकेको छैन। यद्यपि, जावेद अहमदजस्ता उद्यमीहरूले नयाँ प्रविधिको प्रयोग गरेर माटाका भाँडाहरूको उत्पादनमा सुधार गरेका छन्, जसले कुमाल समुदायका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ।

स्थानीय सरकारले यस प्रकारको प्रविधि भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ, जसले कुमाल समुदायको जीवनस्तर उकास्न र माटाका भाँडाहरूको उत्पादनलाई अझ व्यापक बनाउन मद्दत पुर्‍याउन सक्छ। मेसिनको प्रयोगले माटोको परम्परागत उपयोगमा नयाँ आयाम थप्ने मात्र होइन, यो क्षेत्रका कारिगरहरूको आर्थिक स्तर पनि उकास्न सक्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button