तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले मधेश प्रदेशमा सिँचाइ तथा तटबन्धतर्फ झण्डै ७५ करोडको क्षति

जनकपुरधाम । असोज महिनाको दोस्रो सातामा भएको मुसलधारे वर्षा र त्यसपछि मधेश प्रदेशका विभिन्न जिल्लामा आएको बाढीले सिँचाइ, खानेपानी एवं तटबन्धतर्फ ७४ करोड बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका अनुसार प्रदेशका ८ वटा जिल्लामा ७४ करोड ९५ लाखको क्षति भएको जनाएको छ । विभिन्न जिल्लामा रहेको जिल्ला विपत व्यवस्थापन समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबै भन्दा बढी क्षति रौतहट जिल्लामा भएको हो ।

रौतहट जिल्लामा बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलामा आएको बाढीले १९ करोड ५० लाखको सिँचाइ तथा नदी कटान सहितको क्षेत्रमा क्षति भएको छ । यसका साथै दोस्रो बढी क्षति सप्तरी जिल्लामा भएको छ । सप्तरीको बलान, त्रियुगा, महुली सहितका नदिमा आएको बाढीले १२ करोड ८० लाख भएको छ । सर्लाही जिल्लामा बागमती, लखनेही सहितका आधा दर्जन नदिमा आएको बाढीले ९ करोड २५ लाखको क्षति भएको छ ।

बाढीले क्षति गरेको तटबन्ध तथा नहरको अवस्थाको विषयमा मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको नेतृत्वमा मन्त्रालयका प्राविधिक सहितका उच्च अधिकारीहरुले स्थलगत रुपमा अनुगमन गरेर क्षतिको बारेमा जानकारी लिनुभएको छ ।

क्षति भएको संरचनाहरूको तत्काल मरम्मतका लागि प्रदेश सरकारले ८ करोड रकम निकासा गरेको छ भने थप कामका लागि संघ सरकारसँग समन्वय गर्ने काम भइरहेको सिँचाइ मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button