तपाईँ सुन्दै हुनुहुन्छः

कोशी ब्यारेज : पैदल आवतजावतमा रोक

सप्तरी । सप्तकोशी नदीको कोशी ब्यारेजमा बाढीको बहाव निरन्तर बढ्ने क्रममा छ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको हो ।

शनिबार दिउँसो २ः३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ८५ क्युसेक भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

पानीको बहाब लगातार बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ ।

पानीको सतह बढ्दै गएको र जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि अस्थायी रूपमा आवतजावतमा रोक लगाइएको छ भने सवारीसाधनलाई अनुमति दिइएको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।

यस्तै भारतको बिहार राज्य अन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाब ६ लाख ८१ हजार क्युसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button