तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

भक्तपुर । अविरल वर्षाका कारण आएको पहिरोले घर टहरा भत्काउँदा भक्तपुरमा गर्भवती महिलासहित ५ जनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र सुनपाकै वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले बताउनुभयो ।

पलाँसेस्थित मगर गाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालिकोट सानी त्रिवेणी नगरपालिका–१ घरभई हाल सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको परिवारका ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षिया दमिला शाही, बमकी ४ वर्षिया छोरी श्रीया बम र साली १४ वर्षिया मनीषा शाही छन् ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नैचालमा पनि पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षीया मनु तामाङ र ५० वर्षिया मसली तामाङ भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

दुई जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी विभिन्न स्थानको डुबान र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष गरी ४१ जनाको उद्धार गरिएको निरौलाले बताउनुभयो ।

जिल्लामा विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५० जना, सशस्त्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।

खोज तथा उद्धार, राहत सामग्री वितरण लगायतका कार्यमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका करिब १ हजार स्वयम् सेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button