तपाईँ सुन्दै हुनुहुन्छः

दोलखा : पहिरोमा पुरिएर तीन जनाको मृत्यु

दोलखा । अविरल वर्षाका कारण शनिवार दोलखाको लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम र भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने नेपाली सेनाको दुई जवान सहित चार जना बेपत्ता रहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

शनिवार दिउँसो दोलखाको बिगु गाउँपालिका–१ लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइटमा रहेको कन्ट्रोल टावर सँगैको भवन लेदो सहितको पहिरोले पुरिँदा नेपाली सेनाको गरुड दल गडाका दुई जना र आयोजनामा कार्यरत कर्मचारी नवलपरासीका कृष्णप्रसाद चौधरी तथा दोलखाका जयराम तामाङसहित चार जना हराइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

नेपाली सेनाको गरुड दल गणले पनि पहिरोमा परी सेनाको दुई जवान हराइरहेको पुष्टि गरेको छ । प्रतिकुल मौसमका कारण पहिरो गएको स्थानमा पुग्न कठिनाइ हुँदा खोजी कार्यमा समस्या भइरहेको गरुड दल गणले जनाएको छ ।

त्यसैगरी शनिवार दिउँसो नै भीमेश्वर नगरपालिका वडा नम्बर–६ मैदाने स्थित रामकुमार भुजेलको घर पहिरोले पुरिँदा उनी सहित उनको श्रीमती राधिका भुजेल र छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button