तपाईँ सुन्दै हुनुहुन्छः

बिहानी कप फुटबल : बोखिम र दिङला फाइनल प्रवेश

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगितामा बोखिम र दिङला फाइनल प्रवेश गरेका छन् ।

दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलबाट निर्धारित समयमा बरावर एक गोल भएपछि विद्योदय माविलाई पेनाल्टी सुटमा पराजित गर्दे पञ्चकन्या मावि बोखिमले फाइनल यात्रा तय गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा सिद्धकाली बोडिङ स्कुललाई हराउँदै षडानन्द मावि दिङला फाइनल प्रवेश गरेको आयोजक बिहानी फुटबल क्लबका अध्यक्ष विकल श्रेष्ठले जानकारी दिनुभयो ।

नकआउटका आधारमा १४ टिमको सहभागितामा जारी प्रतियोगिता अन्तर्गत शनिवार बोखिम र दिङलाबिच फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा जारी प्रतियोगितामा विजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपविजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितातर्फ वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता असोज ५ गते सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button