तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा महत

सुदूरपश्चिम । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज धनगढीमा आयोजना गरेको ‘आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार’ सम्बन्धी अन्तरक्रियामा उहाँले कृषि उत्पादन बढाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताउनुभयो ।

नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेपनि उत्पादनमा उनीहरूको करिब २५ प्रतिशत मात्रै योगदान रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा महतले भन्नुभयो, “लागत बढी हुँदा कृषि पेशामा त्यति आकर्षण बढ्न सकिरहेको छैन, त्यसले बजार पनि पाउन सकिरहेको छैन ।”

कार्यक्रममा सरोकारवालाहरूले बजार नियन्त्रणमा नहुँदा उपभोक्ताले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नुपरेको, पहुँचवालाको हालीमुहाली हुँदा वास्तविक किसानले अनुदानलगायत सुविधा पाउन नसकिरहेको जस्ता समस्या सुनाएका थिए ।

उहाँहरूले सरकारले अनुदान दिँदा लागतमा नभएर उत्पादनमा दिनुपर्ने, कृषिलाई मर्यादित पेशा बनाउन त्यसअनुसारको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र अहिलेको आपूर्ति व्यवस्थापनमा सुधार गर्नुपर्नेलगायत सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button