तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

बाँके । चाडबाडमा आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना अघि सारेको छ। कतिपय स्थानमा बिहीबारबाट नै यस्ता पसलहरू सञ्चालनमा आइसकेका छन् भने नेपालगन्जमा असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नेपालगन्ज शाखाका प्रमुख रामशरण लामिछानेका अनुसार नेपालगन्जको सुपथ मूल्य पसलमा चामल मात्रै बिक्रीमा रहनेछ। सुर्खेत र काठमाडौँ लगायतका स्थानमा भने चामलसहित दाल, तेल, गेडागुडी, पीठो, चिउरा, चिनी, क्वाँटी, सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी लगायतका उत्पादनहरू राखिएका छन्।

हरेक वर्ष सरकारले दसैँ, तिहार, छठ जस्ता चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुहरूको अत्यधिक माग हुने हुँदा गुणस्तरीय वस्तु सहुलियत दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। काठमाडौँ लगायतका स्थानमा सञ्चालन भएका यस्ता पसलमा उपभोक्ताले विभिन्न वस्तुमा प्रतिकिलो ५ देखि ७ रुपैयाँसम्मको छुट पाउँदै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button