तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको राष्ट्रसंघको महासभाको ७९ औ अधिवेशनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, संवैधानिक अङ्गका प्रमुखहरू, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह र विष्णु पौडेल, मन्त्रीहरू, सांसदहरु, उच्च सरकारी अधिकृत र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि तथा कूटनीतिक निकायका प्रमुखहरुले बिदाइ गर्नुभएको थियो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको बिदाइमा सम्मान गरेको थियो ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गर्ने क्रममा ट्रान्जिटका लागि आजै दिउँसो कतारको दोहा पुग्नुहुने र आजै साँझ उहाँ दोहाबाट अमेरिका प्रस्थान गर्नुहुने छ ।

प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button