तपाईँ सुन्दै हुनुहुन्छः

हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न सबैमा अपील गर्नुभएको छ ।

संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नागरिकको हितबाहेक राज्यको अरू कुनै स्वार्थ हुँदैन भन्ने कामबाट देखाउनुपर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने भएकाले त्यसका लागि सङ्कल्प लिएर अविचलित भई अगाडि बढ्नुपर्ने पनि बताउनुभयो । 

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि लोकतन्त्रको गरिमालाई बचाउनै पर्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सुशासन र जनचाहाना अनुरुप अगाडि बढ्न सके मात्र अहिलेका उपलब्धिहरू सार्थक हुने बताउनुभयो । 

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने सङ्कल्प गर्न पनि त्यस अवसरमा आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयन गर्दै विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो । 

आफ्नो संविधान आफैँ लेख्न पाउने नेपालीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले  यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवम् शुभकामना समेत व्यक्त गर्नुभयो ।  

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरूका साथै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

त्यस विशेष समारोहमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button