तपाईँ सुन्दै हुनुहुन्छः

चीनको औपचारिक भ्रमण पुरा गरी उपसभामुख राना स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मित्रराष्ट्र चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्कनुभएको हो ।

स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र  दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट हामीले धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभयो ।

भ्रमणका क्रममा उपसभामुख राणाले असार २० गते चाइना सिजाङ ट्रान्स–हिमालयन फोरमलाई सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राख्नुभयो ।

राष्ट्रहरूबीच साझा समृद्धि र विकास एवम् सहकार्यको लागि चीनको प्रयास सह्रानीय रहेको चर्चा गर्नुहुँदै उपसभामुख राणाले हिमालय क्षेत्रका देशहरू बिच कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव चेन योङ्चीलगायत पदाधिकारीसँग भेटवार्ता गर्नुभयो ।

भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो । त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।

यसैगरी, फोरममा सहभागी हुन चीन जानुभएका राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि आज नै स्वदेश फर्कनुभएको छ ।

उहाँले फोरममा सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ सँग भेटवार्ता पनि गर्नुभएको थियो ।

भेटका अवसरमा निवर्तमान अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा चीन सरकारले पुर्याएको सहयोग लागि धन्यवाद दिँदै चीनसँग जोडिएका सीमा नाका १२ महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न सहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

यसैगरी नेपालबाट हाइलेज (घाँस), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल, बीउ, बिरुवा र प्रविधि उपलब्ध गराउन आग्रह गर्नुभयाे ।

फोरममा भाग लिन उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button