तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले आवश्यक रुपमा बजेट व्यवस्थापन गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउदै जाने बताउनुभएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको आजदेखि विराटनगरमा शुरु भएको तीन दिने प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले आवश्यक जनशक्तिको कमी तथा सीमित साधन स्रोतका बाबजुद स्वास्थ्यकर्मीहरुले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गदै आएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा विगतमा देखिएको सरकार फेरबदलका कारण स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकेको बताउँदै आगामी दिनमा प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई प्रतिस्पर्धामा सङ्घ भन्दा उत्कृष्ट बनाउने गरि सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव अनुसार प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य कार्यालयसँग आबद्ध कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासका लागि सरकारले कार्यविधि बनाएर काम गर्ने उहाँको भनाई थियो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासन योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा सहयोग पुग्ने बताउनुभयो ।

गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल, नीजि अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button