तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका ५१ प्रतिशत बालबालिकामा रक्त अल्पताको समस्या

जनकपुरधाम । मधेश प्रदेशका ५१ प्रतिशत रक्त अल्पताको समस्या भएको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका पोषण शाखाका अधिकृत विनोद यादवले जानकारी दिनुभएको छ ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजित प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षामा नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भेको २०२२ को रिपोर्टको आधारमा उक्त सङ्ख्याका बालबालिकाहरूमा रक्त अल्पता देखिएको हो । सन् २०१६ को सर्भेमा यो सङ्ख्या ५८ प्रतिशत रहेको थियो ।

रक्त अल्पताका कारण बालबालिकाहरू पुड्कोपनको शिकार हुने गरेका छन् । मधेश प्रदेशका २९ प्रतिशत बालबालिकामा पुड्कोपनाको अवस्था रहेको छ । यसलाई सन् २०३० सम्ममा १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

ख्याउटेपना, अर्को मुख्य समस्या हो । मधेश प्रदेशका १० प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या रहेको । सन् २०३० सम्ममा ४ प्रतिशतमा झार्ने गरि काम गर्न आवश्यक रहेको युनिसेफका पोषण अधिकृत सुमी मास्केले बताउनुभयो ।

त्यसैगरी, कम तौलका बालबालिकाको सङ्ख्या २७ प्रतिशत रहेको छ ।

पोषण सम्बन्धि प्रदेश स्तरीय समीक्षा कार्यक्रमको उद्घाटन मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशका जिल्लाहरू खाद्यान्नको दृष्टिकोणले समृद्ध भए पनि खान र खुवाउन नजानेका कारण धेरै बालबालिका कुपोषित हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाको अध्यक्षतामा भएको प्रदेश स्तरीय पोषणसम्बन्धी कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य राज कुमार सिंहले प्रदेशको समग्र मानव सूचकाङ्कमा सुधारका लागि बालबालिकाको पोषण अवस्थामा सुधार हुन आवश्यक भएको बताउनुभयो ।

भोलीसम्म कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button