तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनद्वारा विपदबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरूलाई सङ्घको तर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामाग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किट लगायतका सामाग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात् दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको हो ।

यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । 

जसअनुसार आज पहिलो चरणमा दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा राहत वितरण गरिएको हो । यस्तै भोलि सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सङ्घले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ । सिस्नेरीमा सम्पन्न राहत पूर्वमन्त्री डीना उपाध्याय, एमाले सांसद महेश बर्तौलालगायतले राहत वितरण गरेका थिए । 

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा सङ्घको तर्फबाट गएको टोली उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषध्यक्ष कृष्ण प्रसाद  तिमिल्सिना आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, पूर्व महासचिव रतन झा, सल्लाहकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डङ्गोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button