तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । 

आज ललितपुरमा आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५ दशमलव ५ हेक्टर जग्गामा सिचाई सुविधा लिएको र प्रत्येक कृषक परिवार अन्तर्गतको ५४ दशमलव ५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको जानकारी दिइएको छ ।

उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औँ योजना तर्जुमा गर्दा उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यक्रम तर्जुमा गर्ने भन्नुहुँदै कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना २०७८ को नतिजा फलदायी हुने बताउनुभयो । 

उहाँले कृषिको रूपान्तरण गरी कच्चा पदार्थ र उपभोग्य पदार्थ उत्पादन गरी कृषिमा आधारित उद्योग विकास गर्नुपर्ने बताउनुभयो ।

नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणना भन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न वाली र गत वर्ष भन्दा यस पटक फलफूल बाली पनि बढेको देखिएको जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा गत १० वर्षको अन्तरालमा  पशुपालन गर्ने कृषक परिवारमा पनि वृद्धि भएको भन्दै उन्नत गाई र भैँसी पालनको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिइएको थियो । 

कृषि गणना २०७८ का अनुसार ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ भने पुष्प तथा नर्सरी खेती, मौरी पालन र च्याऊँ खेतीमा पनि कृषकहरूमा आर्कषण बढेको जनाइएको छ । 

कृषि गणना २०७८ का अनुसार ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यबाट भएको आम्दानीले खान पुग्ने बताएका छन् भने जम्मा कृषक परिवार मध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप सञ्चालन गर्ने गरेको पनि नतिजामा जनाइएको छ । 

कृषि गणना २०७८ का अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो वर्षका गणनाले कृषक परिवार ७१ प्रतिशत देखाएको थियो ।

आज सार्वजनिक नतिजा अनुसार ३ लाख ८ हजार ५ सय १२ कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने अनुदान पाएका मध्ये सबैभन्दा बढी कृषकले रासायनिक मल खरिद गरेको जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button