समपुरक र विशेष अनुदान वितरणका लागि प्रक्रिया शुरु
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले स्थानीय तह तथा प्रदेशलाई दिने समपुरक र विशेष अनुदानको वितरणका लागि आवश्यक प्रक्रिया शुरु भएको जनाएको छ ।
यस वर्षका लागि समपुरक र विशेष अनुदानको वितरणका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिसकेको आयोगले आगामी आर्थिक बर्षका लागि स्थानीय तहलाई बढीमा ३ वटा र प्रदेशलाई बढीमा १५ वटा कार्यक्रम र योजनाको विस्तृत विवरण समपुरक र विशेष अनुदानको लागि योजना आयोगमा पेश गर्न आव्हान गरेको छ ।
आयोगले यस्तो प्रस्ताव समपुरक र विशेष अनुदान कार्यविधिले निर्धारण गरे बमोजिम हुने जनाएको छ ।
प्रस्ताव रितपूर्वक पुष मसान्तसम्म योजना आयोगमा विद्युतीय प्रणाली मार्फत पेश गर्नु पर्ने गरी व्यवस्था गरेको समपुरक अनुदान वाँडफाँड समितिका संयोजक योजना आयोगका सदस्य इन्जिनियर शुशिल भट्टले जानकारी दिनु भयो ।
योजना आयोगले पुष मसान्त भित्रमा प्राप्त भएका योजना र प्रस्तावहरुको अध्ययन गरी फागुनको मध्यसम्ममा समपुरक र विशेष अनुदान कार्यक्रम र आयोजनाको छनौट र रकमको बाँडफाँड गरी अर्थ मन्त्रालयमा पेश गर्ने जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटले समपुरक तथा विशेष अनुदान योजना आयोग मार्फत बाँडफाँड गर्ने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्