लघुवित्त तथा वित्तीय संस्थाले चर्को ब्याजदर लगाएको भन्दै सल्यानका स्थानीय आन्दोलित
सल्यान । वित्तीय संस्था तथा लघुवित्त संस्थाले चर्को व्याज लगाएको भन्दै सल्यानका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरूमाथि चरम शोषण गरेको भन्दै जिल्लाको बनगाड कुपिण्डेका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका उनीहरूले बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा विरोध प्रदर्शन समेत गरेका छन् । लघुवित्त तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर आफूहरूको उठिबास हुने अवस्था आएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन । आफूहरूमाथिको शोषण अन्त्य नभएसम्म उनीहरूले आन्दोलन जारी राख्ने र लघुवित्तको कामकाज सञ्चालनमा रोक लगाउने भन्दै दबाब दिएका छन् । उनीहरूले सरकारले तोकेकोभन्दा बढी लिएको ब्याज फिर्ता गर्न माग समेत राखेका छन् ।
आर्थिक अवस्था कमजोर भएकाको आयस्तर उकास्नका लागि बिना धितो ऋण दिएर आयमूलक कार्यक्रम सञ्चालनमा सहयोग पुगो स भन्ने उद्देश्यले वित्तीय संस्था तथा लघुवित्त स्थापना भएपनि स्थानीयलाई राहतभन्दा आहत बढी भएको आन्दोलन सङ्घर्ष समितिको उपाध्यक्ष विमला घर्तीले बताउनु भयो । जसका कारण ऋण तथा ब्याज तिर्न नसक्दा धेरैको उठीबास लाग्ने अवस्था सृजना भएको उहाँले बताउनु भयो ।
लघुवित्तको चर्को ब्याजका कारण पालिकाभित्रका दुई देखि तीन सय स्थानीय प्रभावित भएका घर्तीको भनाई छ । लघुवित्तलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सरकारले नियम लागू गरेपनि के के गरी ३० देखि ३६ प्रतिशतसम्म ब्याज लिने गरेकाले आफूहरू धेरै मारमा परेकै कारण आन्दोलन गर्नु परेको वालिका बुढामगरले बताउनु भयो ।
उहाँले लघुवित्तले बनाएको समूह अन्तर्गत मासिक जम्मा गरेको बचत रकम समेत नपाएको जानकारी दिनु भयो । लघुवित्तका कर्मचारीले कर्जा लिएकालाई सहुलियत दिनेभन्दा विभिन्न किसिमका मानसिक तनाव दिने काम गर्दै आएको उहाँको आरोप छ ।
लघुवित्तले विभिन्न परियोजना बनाएको र त्यही परियोजना अनुसार ऋण परिचालन गर्ने भनेपनि कर्मचारीले त्यसलाई पालना नगरी मनपरी गरेको निर्मला रोकाको आरोप छ । एक जनाले लिएको सहुलियत कर्जाका कारण समूहमा बसेका नौ जनाले विभिन्न किसिमका समस्या भोग्नु परेको उनको दाबी छ । ‘
प्रतिक्रिया राख्नुहोस्