तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

कास्की  । कास्कीमा सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । 

शुक्रवार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो । 

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकले जिल्लाभरि खोप कार्ड अनिवार्य गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बताउनुभयो । 

आदेशले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनैतिक, सामाजिक तथा सांस्कृतिक लगायतका भेला, महोत्सव, मेला सभा सम्मेलन गर्न रोक लगाएको छ । 

सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई जहाजबाट यात्रा गर्नु पूर्व कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ ।

जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठन रोकिएको छ । 

सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न भने अनुमति दिएको आचार्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button