तपाईँ सुन्दै हुनुहुन्छः

पोल गाडेको दुई वर्षपछि बिजुली

बनेपा-काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो । तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मटिर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ ।

उहाँका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ । अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको गाउँपालिका वडाध्यक्ष रामबहादुर मोक्तानले बताउनुभयो ।

अहिले सो ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको उहाँले बताउनुभयो । “अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ ।

बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक धु्रव रायमाझीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी रु पाँच करोड १७ लाख लागतमा करीब एक हजार घरधुरीले बत्ती बाल्ने रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button