तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सय दिनका उपलब्धी सार्वजनिक 

'दूरगामी प्रभाव पार्ने नीतिगत सुधारका काम भएका छन् : मन्त्री पाण्डे '

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्य योजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जस्ता दूरगामी महत्वका कामहरू भएको बताउनु भएको छ ।     

वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरूबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । 

उहाँले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटक पटक भएको हवाई दुर्घटना र त्यस पछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि सो अवसरमा बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाइन्समा देखिएका समस्याहरूको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनीय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौँ ।”

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रुपमा छुट्ट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । ती विधेयकहरू संसद्को आगामी अधिवेशनमा पेश भई पारित गर्न पहल हुने पनि स्पष्ट गर्नुभयो । 

यसै गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कार्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्वपूर्ण उपलब्धी भएको स्पष्ट गर्नुभयो ।  

 मन्त्री पाण्डेले भन्नुभयो, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ ।” यसको कार्यान्वयनबाट हवाई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बीमा रकमा उल्लेख्य वृद्धि हुने छ । 

यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताउनुभयो ।

सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडा दरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताउनुभयो । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेसिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । 

मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायु यान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ । मन्त्री पाण्डेले भन्नुभयो, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मामा पेश गरिएको छ । क्यासिनो नियमावली, स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको । पर्वतारोहण सम्बन्धी नियमावली, संशोधनका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।”

त्यस्तै नेपालका पाँच हजार ८०० देखि छ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको  उहाँले जानकारी दिनुभयो । यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब २०० पर्यटकहरूलाई उद्धार गरिएको जनाएको छ । 

यस्तै प्रतिलिपि अधिकार विधेयक, द्दण्डज्ञ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताउनुभयो ।

मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाण सहित नेपाल फर्काउन कूटनीतिक प्रक्रिया अघि बढाइएको तथा शङ्कर कीर्ति महाविहार, भगवान् बहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ति सोही स्थानमा पुनर्स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button