तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले कर्णाली प्रदेशलाई प्राथमिकता दिएर पूर्वाधार योजना बनाउने : मन्त्री दाहाल

काठमाडौँ । सरकारले कर्णाली प्रदेशलाई प्राथमिकता दिएर पूर्वाधार योजना बनाउने भएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कर्णाली प्रदेशका जिल्लाहरूलाई भौतिक पूर्वाधार र सडक यातायातलाई प्राथमिकता दिएर सरकारले आगामी नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने बताउनुभयो ।  

विगतमा विकासका पूर्वाधार निर्माण गरिँदाका कमजोरीहरू पहिचान भइसकेकाले आगामी दिनमा निर्माणअघि नयाँ टेक्नोलोजीबाट परीक्षण गरिने पनि मन्त्री दाहालले बैठकमा प्रतिबद्धता जनाउनुभयो ।

हालैको बाढी पहिरोबाट क्षति भएका ८० वटा राजमार्ग मध्ये ३९ वटा राजमार्ग सुचारु  भइसकेको जानकारी दिनुहुँदै मन्त्री दाहालले विपद्का बेला सडक विभागले युद्धस्तरमा काम गरेको बताउनुभयो ।

बैठकमा सांसदहरु रेनु चन्द, मदनकुमारी शाह, पदम परियार, गोमादेवि तिमल्सिनालगायतले विकास समानुपातिक हुनुपर्ने, नदी किनाराहरूमा बालुवा गिटी झिक्न रोक लगाउनुपर्ने र सडक निर्माण गर्दा अन्तर मन्त्रालयगत समन्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले उत्तर दक्षिण जोड्ने सेती राजमार्ग निर्माणमा ढिलाइ हुनुको कारण माग्दै जीर्ण अवस्थामा पुगेको महाकालीको झोलुङ्गे पुलको तत्काल मर्मत गर्न सरकारलाई सुझाव दिनुभयो ।

बैठकमा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक तथा पुल निर्माणमा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button