तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख : मन्त्री पाैडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिहीबार आफ्नो कार्यकालका एक सय दिने उपलब्धी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्बिर : नवीन पाैडेल/रासस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख रहेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदबहाली भएको सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुहुँदै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका तत्कालीन तथा दीर्घकालीन महत्वका समस्या समाधानका कार्यहरू अघि बढाइएको बताउनुभयो ।

मन्त्री पौडेलले उपचारात्मक सेवा विस्तार र विकास गर्ने कार्य अन्तर्गत सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिएको बताउनुभयो ।

मन्त्री पौडेलले हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचार सेवा  सञ्चालन गर्ने योजना बमोजिम मधेश र गण्डकी प्रदेश मार्फत सेवा सुरु गरिएको तथा अन्य प्रदेशहरूबाट समेत क्रमशः सेवा अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।

यस्तै सबै संघीय अस्पतालहरूमा टोकन प्रणाली मार्फत दुई सिफ्टमा ओपिडी सेवा सुरु गरिएको, सातै प्रदेशबाट (कस्मेटिक बाहेकको) जलन उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले १० देखी १४ वर्षका किशोरीहरूका लागि निःशुल्क एचपिभी खोपको व्यवस्था गरी यसै वर्ष खोप अभियान सञ्चालन गर्ने कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले ८ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ गरिएको उल्लेख गर्नुहुँदै महिला स्वास्थ्य स्यंमसेवीहरुलाई सार्वजनिक यातायात शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेकाले हाल समिति बनाई छलफल जारी रहेको भन्नुहुँदै चाँडै बिमा कार्यक्रम लागु गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button