तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा १५० बढी घरमा पस्यो बाढी, दर्जनौँको उद्धार

चितवन । बिहीबारदेखि आएको अविरल वर्षका कारण चितवनका १ सय ५० भन्दा बढी घरमा बाढी पसेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, नारायणी नदी र माडीको रिउ खोलामा आएको बढीका कारण विभिन्न संघ संस्था सहित १ सय ५० भन्दा बढी सर्वसाधारणका घरमा बाढी पसेको हो ।

आज बिहान साढे ८ बजे आएको नारायणीको बढी भरतपुर महानगरपालिका–१६का गुम्बाचौर, रामघाट, झनझने, कार्की चोकका सय भन्दा बढी घरमा पसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, सो क्षेत्रमा मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।

यस्तै, भरतपुर–२६ सिसुवार, तल्लो हिरापुरका नदी किनारका ३० घरमा नारायणीको बाढी पसेको छ । सो स्थानका मानिसलाई गुरुङ समाजको भवन र स्थानीय विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभयो ।

माडीको रिउ खोलाको पानीको बहाव बढेर माडी–१ बनकट्टाका ११, सिमरा, कृष्णपुरका ७ घरमा पानी पसेको छ । भरतपुर १ स्थित देवघाटमा रहेको हरिकीर्तन चोकको धर्मशाला बाढीले डुबाएपछि धर्मशालाबाट ७ जना र शिव मन्दिर बाट २ जना गरि ९ जनाको उद्धार गरिएको छ ।

नारायणी नदी किनारको नगर वन नजिक रहेको हाम्रो घरमा समेत नारायणी पसेको छ । बालबालिका राख्ने (हाम्रो घर) र सोही ठाउँमा रहेको बाल कुमारी कलेजबाट गरी २८ जना उद्धार गरि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । नगरवन स्थितमा रहेको सामुदायिक सेवा केन्द्र नारायणगढको तल्लो कोठामा पनि पानी पसेको छ ।

पूर्वी चितवनको राप्ती–६ ढुंग्रे खोलाको जोखिममा रहेको घरका १० जनाको उद्धार समेत गरिएको छ । आज बिहान साढे ८ बजे आएको त्रिशूलीको बढीले ईच्छाकामना गाउँपालिका–४ धारापानी र गोरखा सहिद लखन गाउँपालिका–४ छेपेटार जोडने झोलुङ्गे पुल बगाएको छ । जसका कारण त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ । इच्छाकामना–५ पुरानो पुल नजिक रहेको भवन, विद्युतको ट्रान्समिटर, विद्युतको चार्जिङ स्टेशन पहिरोको जोखिममा परेको छ ।

आज बिहान साँढे पाँच बजे भरतपुर–२५का ४० वर्षीय राजेन्द्र महताको फर्निचरमा वेथरी खोलाको पानी पसी काठ, मुढा, बगाएको, सुत्ने कोठा र फर्निचरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाकारी दिएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ र ४का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना–३ स्थित मौवाखोला, दतिखोला र पानीधारा र वडा नम्बर–४ को घोप्टे भीरमा माथिबाट खसेको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेको हो । नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिदा ठूला सवारी साधनको आवागमनमा पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको छेउमा भाग २ फिट सम्म भासिएको छ ।

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो । चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ । पानीको बहाव अझै बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button