तपाईँ सुन्दै हुनुहुन्छः

साढे तीन करोड लगानीमा पाँच मैत्रीपूर्ण विद्यालय भवन निर्माण

जुम्ला । सिंजा क्षेत्रका तीन पालिकाका सामुदायिक विद्यालयमा पाँच वटा मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको छ । गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका पालिकाको समन्वय र दातृ निकायको सहयोगमा साढे तीन करोडको लगानीमा सिंजा क्षेत्रमा पाँचवटा मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको हो । 

जसमा हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चार–चार कोठे भवन निर्माण गर्नुका साथै अपाङ्गतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको छ । 

यस्तै सिञ्जा गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा पनि चारकोठे विद्यालय भवन निर्माण गर्नुका साथै अपाङ्गतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको छ । 

स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा आधार परियोजना विद्यालय भवन, शौचालय र हातधुने धारा निर्माण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो । उहाँका अनुसार निर्माण गरिएको सबै संरचना भूकम्प प्रतिरोधीका, अपाङ्गता र बालमैत्री छन् ।  

सबै भौतिक संरचना निर्माणपश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भवन उद्घाटन गर्नुका साथै स्थानीय तहलाई असोज पहिलो साता हस्तान्तरण पनि गरिएको बताउनुभयो । प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले संस्थाले जहिले पनि आवश्यकतामा आधारित रहने र गुणस्तरीय शिक्षा क्षेत्रमा विगत ४५ वर्षदेखि नेपालमा गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले टिनका छाना भएका निजी विद्यालयमा अध्ययन गराउने अभिभावकको प्रतिस्पर्धालाई अन्त्य नगरी सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर नआउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button