तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत सादको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग साउदी अरेबियाका राजदूत साद नासीर अब्दुल्लाह अबु हैमीदले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा नेपाल र साउदी अरेबिया बीचको द्विपक्षीय सम्बन्ध, नेपाली कामदार, पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी, कृषि लगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सौहार्दपूर्ण सम्बन्ध रहीआएको बताउनु भयो । ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न तहमा भ्रमणको आदानप्रदान आवश्यक छ’ उहाँले भन्नुभयो, ‘साउदी अरेबिया नेपाली कामदारका लागि वैदेशिक रोजगारको एक मुख्य गन्तव्य बनेको छ । त्यहाँ कार्यरत चार लाख नेपाली कामदारको हकहितको रक्षाका लागि साउदी सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास लिएको छु । ’ 

सन् २०२६ सम्ममा नेपालले अतिकम विकसित मुलुकको सूचिबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका लागि नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी, कृषि लगायतका क्षेत्रमा साउदी अरेबिया लगायत सबै मित्र राष्ट्रहरूबाट थप लगानी र सहयोगको लागि अपेक्षा गरेको छ । ’ 

उहाँले दुई देशबीच आर्थिक सहयोग र साझेदारी अभिवृद्धि एवं विस्तार गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नेपालको प्राकृतिक सौन्दर्यता, उपयुक्त हावापानी, संस्कृति र नेपालीहरूको मिलनसार व्यवहारका कारण नेपाल साउदी पर्यटकहरूका लागि पर्यटकीय दृष्टिले उत्तम विकल्प हुन सक्दछ । ’ उपराष्ट्रपति यादवले नेपाल र साउदी अरेबियाले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एसिया सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय फोरमहरूमा नजिकबाट काम गर्दै र एक अर्कालाई सहयोग प्रदान गर्दै आएको बताउनु भयो । ‘यो कार्यले भविष्यमा समेत निरन्तरता पाउनेमा म विश्वस्त छु ’ उहाँले भन्नुभयो । 

उहाँले साउदी अरेबियाको ९४औँ राष्ट्रिय दिवसको अवसरमा महामहिम मार्फत साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिज तथा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान अल साउदलाई बधाई सन्देश दिँदै त्यहाँका जनताको शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो ।  

साउदी अरेबियाका महामहिम राजदूत साद नासीरले आफ्नो मुलुकले नेपालीहरूलाई रोजगारी दिएर नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै साउदी अरेबिया नेपालको पर्यटनलगायतका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button