तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली सेनाद्वारा वेस्ट बैङ्कमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश

रमल्लाह । वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैङ्कको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ ।

अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ ।

इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।

अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।

गाजामा युद्ध सुरु भएयता अल जजिराका चार जना पत्रकार मारिएका छन् । गाजामा रहेको नेटवर्कको कार्यालयमा पनि बम हमला गरिएको थियो ।

इजरायली सेनाले बन्द गर्ने आदेशको कारण नबताएको जनाएको छ अल जजिराले बताएको छ ।

“अल जजिरालाई ४५ दिनका लागि बन्द गर्ने अदालतको फैसला छ”, एक इजरायली सैनिकले अल जजिराका वेस्ट बैङ्क ब्युरो प्रमुख वालिद अल–ओमारीलाई नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कुराकानीमा भने । फुटेजअनुसार ती सैनिकले भने, “म तपाईँलाई सबै क्यामेराहरू लिएर यही क्षण कार्यालय छोड्न अनुरोध गर्दछु ।”

अल जजिराका अनुसार ओमारीले आदेशमा नेटवर्कमाथि ‘आतङ्कवादलाई उक्साएको र समर्थन गरेको’ आरोप लगाइएको बताउनुभयो । ओमारीले भन्नुभयो, “पत्रकारहरूलाई यस प्रकारले लक्षित गर्नुको उद्देश्य सधैँ सत्यलाई मेटाउनु र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”

इजरायली सेनाले टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएको छैन । 

रामल्लाहस्थित प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबारको कारबाहीलाई प्रेस स्वतन्त्रताको ‘घोर उल्लङ्घन’ भनेर निन्दा गरेको छ । “अल जजिरा कार्यालय बन्द गर्नुले प्यालेस्टिनी जनताविरुद्ध (इजरायली) कब्जाका उल्लङ्घनहरू बताउने मिडियाको कामलाई अवरोध गर्ने कब्जाको प्रयासलाई पुष्टि गर्दछ”, वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण रहेको प्यालेस्टिनी प्राधिकरणको सरकारी मिडिया कार्यालयका निर्देशक मोहम्मद अबु अल–रुबले भन्नुभयो ।

अप्रिलमा, इजरायली संसद्ले राज्यको सुरक्षाका लागि हानिकारक मानिने विदेशी मिडिया प्रसारणमाथि प्रतिबन्ध लगाउने अनुमति दिने कानून पारित गरेको थियो ।

उक्त कानूनको आधारमा इजरायल सरकारले मे ५ मा अल जजिरालाई इजरायलबाट प्रसारण गर्न प्रतिबन्ध लगाउने र यसका कार्यालयहरू प्रारम्भिक ४५ दिनका लागि बन्द गर्ने निर्णय अनुमोदन गर्‍यो र यसलाई गत साता तेल अभिव अदालतले चौथो पटक थप गर्‍यो ।

अल जजिराले अदालतको उक्त निर्णयलाई ‘आपराधिक’ भनी निन्दा गर्दै यसले सूचना पाउने मानव अधिकारको उल्लङ्घन गर्ने बतायो ।

इजरायल सरकारले गत हप्ता देशमा रहेका अल जजिराका पत्रकारहरूको प्रेस प्रमाणपत्र खारेज गर्ने घोषणा गर्‍यो । 

यो बन्दले अल जजिराले अझै पनि इजरायलको प्यालेस्टिनी लडाकुहरूसँगको युद्धको कभरेज गरिरहेको वेस्ट बैङ्क वा गाजा पट्टीबाट हुने प्रसारणलाई प्रभावित गरेको थिएन ।

अल जजिराकी संवाददाता निदा इब्राहिमले नेटवर्कको वेस्ट बैङ्क कार्यालय बन्द गर्ने कार्य इजरायल भित्रबाट रिपोर्टिङमा लगाइएको पहिलेको प्रतिबन्धपछि ‘आश्चर्यजनक’ नभएको बताउनुभयो । “हामीले इजरायली अधिकारीहरूले ब्युरो बन्द गर्ने धम्की दिएको सुनेका थियौँ”, उहाँले भन्नुभयो ।  

गाजामा हमास–शासित सरकारको मिडिया कार्यालयले आइतबारको छापालाई निन्दा गर्दै वक्तव्यमा भनेको छ,  “एक गम्भीर अपमान र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन हो ।”

अल जजिरालाई आंशिक रूपमा वित्त पोषण गर्ने कतार हमासका राजनीतिक नेता इस्माइल हनियाको आधार पनि थियो । हानियाको जुलाईमा तेहरानमा भएको आक्रमणमा मृत्यु भएको थियो । इरान र हमासले हानियाको हत्यामा इजरायलको हात रहेको आरोप लगाएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button