तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्वोत्कृष्ट उपाधि राइलाई

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्वोत्कृष्ट उपाधि पाँचथरका विशाल राइले हात पार्नुभएको छ ।

रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा राइले निर्धारित दुरी ४ घण्टा १६ मिनेटमा पार गर्दै सर्वोत्कृष्ट उपाधि हात पार्नुभएको हो । उहाँले एक लाख रुपैंया पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम बझाङका करण रावल र महिलातर्फ प्रथम ताप्लेजुङका कुमारी गुरुङले हात पर्नुभयो । निर्धारित ४८ किलो मिटर दुरी रावलले चार घण्टा १७ मिनेटको पार गर्नुभएको थियो भने महिलातर्फका गुरुङले सोही दुरी ६ घण्टा १२ मिनेटमा पार गर्नुभएको थियो । पुरुषतर्फ द्वितीय ताप्लेजुङका रमेश लिम्बु र तृतीय सोलुखुम्बुका अर्जुन कुलुङ राई हुनुभयो । पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

महिला दोस्रो स्थानमा ओखलढुङ्गाका लाक्पा निमा शेर्पाले ६ घण्टा २९ मिनेट र ताप्लेजुङका दासाङ्गी शेर्पाले ६ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पुरा गर्नुभएको थियो । महिला प्रथम, दोस्रो र तेस्रोलाई पुरुष बराबरी नै ५०, ३० र २० हजार रुपैंया पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको आयोजक रेडपाण्डा नेटवर्क ताप्लेजुङका प्रमुख रमेश राइले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ ५१ र महिलातर्फ दक्षिण कोरियाली महिला धाविकासहित १६ जनाको सहभागिता थियो ।

यसै गरी स्थानीय विधा अन्तरर्गत ताप्लेजुङ, पाँचथर र इलामका धावकहरूको पनि प्रतियोगिता सञ्चालन भएको थियो । जसमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, १० र ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

म्याराथन प्रतियोगिता ताप्लेजुङको फुङलिङको तोक्मेडाँडादेखि सरु भई ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा(मुकुम्लुङ) मन्दिर पुगेर पुनः फुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी निर्धारण गरिएको थियो ।

पूर्वी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम रेडपाण्डा(हाब्रे) पाइने जिल्ला हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button