तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नाकाबाट चिया निर्यातमा वृद्धि

झापा । पूर्वी नाकाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।

चालु आवको साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत वर्ष पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।

मेची भन्सार कार्यालयका अनुसार चिया निर्यातको परिमाणसँगै यसको मूल्य पनि बढेको छ । यो दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यो रकम गत वर्षको भन्दा ६२ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । भारतबाट माग आइरहेकोले चियाको निर्यात यो वर्ष अझै बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button