तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज भन्सारबाट दुई महिनामा २५ अर्ब ४० करोड बढी राजश्व असुली

वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको (एकिकृत भन्सार जाँच चौकी आइसिपी) वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को २ महिनामा २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन महिनामा ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयात घट्दै गएसँगै चालु आर्थिक वर्षको दुई महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै २९ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोको लक्ष्य भन्दा दुई महिनामा १० अर्ब १६ करोड ९६ लाख १३ हजार कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ९ अर्ब ५७ करोड ८२ लाख २७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४ अर्ब ९७ करोड ८३ लाख ८३ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ९५ करोड ११ लाख १ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ९० करोड ३३ लाख ४३ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ५अर्ब, ४१ करोड, ३१ लाख ५० हजार असुली गरेको छ ।

त्यसैगरी वीरगञ्ज भन्सारले भन्सार महशुल निर्याततर्फ १ अर्ब २३ करोड ७९ लाख ४६ हजार असुली गरेको छ भने सडक मर्मत तथा सुधार दस्तुरतर्फ ५४ करोड १६ लाख ४९ हजार राजस्व असुली गरेको छ । यसैगरी सडक निर्माण तथा सम्भार दस्तुरमा २३ करोड ६७ लाख ३० हजार राजस्व असुल गरेको छ भने अग्रिम आयकरतर्फ ९६ करोड ७१ लख ४७ हजार स्वास्थ्य जोखिम करतर्फ ८ करोड ५८ लाख ६३ हजार राजश्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वीरगञ्ज भन्सार कार्यालयले भन्सार सम्बन्धी अन्य आयबाट २५ करोड ४८ लाख ८० हजार, विलासिता शुल्कबाट ९ करोड ८१ लख ६३ हजार र हरित करबाट १५ करोड ६५ लाख ६१ हजार राजश्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button