तपाईँ सुन्दै हुनुहुन्छः

वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : उपप्रधानमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताउनुभएको छ ।

चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुई दिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले दिगोपनाको आर्थिक वृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने बताउनुभयो ।

“वातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक वृद्धि अन्ततः दिगो हुन सक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावी पुस्ताका निम्ति अकल्पनीय बोझ छाडेर जाने चुनौती सिर्जना हुन दिनुहुँदैन”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वातावरणीय सन्तुलनसहितको आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “हामी नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन न्यूनीकरण, फोहरको पुनः प्रयोग, वातावरण प्रदूषण र प्राकृतिक सम्पदाको सदुपयोगको विषयमा सन्तुलित दृष्टिकोणले जानुपर्छ, यसले मात्रै दिगो आर्थिक वृद्धि हुनेछ ।” नेपालमा हरित अर्थतन्त्र पैरवीको चरणमा रहेकाले पैरवी पनि प्राकृतिक सन्तुलनमा आधारित भएर गर्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले जे गर्दा आर्थिक समृद्धि हासिल, आर्थिक वृद्धि तथा सम्पन्नता प्राप्त हुन्छ त्यही गर्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खा याममा पहाड चिथोरेको जस्तो देखिन्छ, पूर्वाधार चाहिए पनि अध्ययन बिना वातावरणमैत्री बनाउन नसक्दा वातावरण बिग्रिएको छ, प्रतिकूल स्वरूप विकासमा खर्च बढेको छ ।”

मन्त्री पौडेलले वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा बाढीपहिरोको जोखिम बढेको बताउनुभयो । “बिना अध्ययनका आयोजनाले प्रकोप बढिरहेका छन्, अब यस्तो पद्धतिबाट मुक्त हुनुपर्दछ”, उहाँले थप्नुभयो । उहाँले क्रमशः ऊर्जा उत्पादनलाई निरन्तर दिँदै ‘क्लिन इजर्नी’लाई घर र यातायातमा प्रयोग गर्ने गरी पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ‘स्थिर सरकार’ आएकाले चालु आर्थिक वर्ष र आउँदो आवमा आर्थिक आशा लाग्दो देखिएको बताउनुभयो । उहाँले घाटादर घट्दै रु पाँच अर्बमा झर्नु सकारात्मक भएको उल्लेख गर्दै आवश्यक सम्पूर्ण सामग्री आयात गर्नसक्ने क्षमतामै रहेको बताउनुभयो ।

पूर्व मुख्यसचिव विमल कोइरालाले सरकारले आर्थिक वृद्धिदरको नीतिमा मात्रै लिएर नहुने भएकाले तीनै तहका सरकारले समन्वयात्मक भूमिका खेल्दै पूर्णरुपमा प्रतिफलपूर्ण योजनामा जानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button