तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा डेंगी र स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि

अर्घाखाँची । बिगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पताल तथा  सरकारी निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरो,डेंगी र स्क्रब टाइफसका बिरामी बढेका अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनु भयो । 

ओपिडीमा दैनिक डेढ सय सम्म बिरामी आउने गरेकोमा अहिले बढेर दुई सय देखि दुई सय पचास सम्म पुगेका उहाँको भनाइ छ । विगतका वर्षमा डेंगी र स्क्रब टाइफसका बिरामी खासै नदेखिएकोमा अहिले निकै बिरामी देखा परेका छन् ।  साउन र भदौ महिनामा मात्र जिल्लाभरमा ४९  जनालाई डेंगी संक्रमण पुष्टि भएको छ भने  त्यस्तै २८ जनामा ’स्क्रब टाइफस देखिएको छ । 

अर्घाखाँची अस्पताल सन्धि खर्कमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीपनी निकै बढेका छन् । ज्वरो आउने,शरीर दुख्ने,खान मन नलाग्ने,कमजोर महसुस हुने जस्ता लक्षण देखिने तर सामान्य उपचारले बिरामी निको नहुने हुनाले बिरामीलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको  अस्पतालका सूचना अधिकारी निम रानाको भनाई रहेको छ ।

सामान्य ज्वरो देखिए पनि समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ ।  रुघाखोकी जस्तो सामान्य देखिए पनि डेंगी र स्क्रब टाइफस समेत हुने भएकाले सचेत हुन पर्ने डा.तिवारीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button