तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जङ्गली हात्तीको आतंक: आक्रमणमा दुई जना घाइते, घर र बालीनालीमा क्षति

बाँके ।गएराति बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्ती सोनारी गाउँपालिका-२ गोबरपुरमा आक्रमण गर्दा ४० वर्षीया लक्ष्मी बोहरा र उहाँकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते हुनुभएको छ। स्थानीय शङ्कर शर्माका अनुसार हात्ती बस्तीमा पसेर आक्रमण गरेको हो। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

यसअघि पनि बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ।केही दिन अघि हात्तीले धनबहादुर बुढामगर र सरिता पुनको घरमा क्षति पुर्‍याएको थियो। स्थानीय वडाध्यक्ष यमबहादुर खड्काका अनुसार हात्तीले घर भत्काउँदा मानिसहरू समयमै भागेर ज्यान जोगाउन सफल भएका हुन् । आक्रमणका कारण घरका छाना, झ्याल र ढोकामा ठूलो क्षति भएको छ।

हात्तीको आक्रमणले घर मात्र नभई वरिपरिका मकैबारी र अन्य बालीनाली समेत नष्ट गरेको छ। स्थानीय बलबहादुर घर्तीमगरका अनुसार बर्सेनि हात्तीले अन्नबाली नष्ट गर्दा पनि निकुञ्ज र सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभएको छ।

यस क्षेत्रमा जङ्गली हात्तीको समस्या दीर्घकालीन रुपमा रहँदै आएको छ, जसले जनधनको क्षति मात्रै नभई स्थानीयलाई मानसिक तनाव पनि थप्दै आएको छ। स्थानीयहरूले निकुञ्ज प्रशासनसँग दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button