तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र आयोजनाहरूको निर्माण सुरु गरिएकाे छ: मन्त्री खड्का

धनकुटा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिजो अलपत्र बनेर बसेका आयोजनाहरूको निर्माण सुरु गरिएको बताउनु भएको छ । बुधबार नेपाली काँग्रेस धनकुटाले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा मन्त्री खड्काले मन्त्रालयको ध्यान यतिबेला राज्यको करोडौँ लगानी भएर अलपत्र रहेका पञ्चेश्वर, बुढीगण्डकी, अपर अरुण, तमोर जलविद्युत आयोजनामा केन्द्रित रहेको बताउनु भएको हो। 

मन्त्री खड्काले ४० मेगावाट विद्युत् बङ्गलादेशलाई बिक्री गर्ने तयारीमा रहेको पनि बताउनु भयो। उहाँले यतिबेला सम्झौता भइसक्ने भएपनि बङ्गलादेशको राजनीतिक अवस्थाले केही पर धकेलिएको बताउनु भयो। उहाँले चिन सँग पनि विद्युत् खरिदका लागि आग्रह गरिएको जानकारी दिनुभयो। विद्युत् निर्यातले देशलाई गरिबीको रेखामुनिबाट माथि उकास्ने बताउनुहुँदै मन्त्री खड्काले मन्त्रालयको ध्यान विद्युत् उत्पादन गरेर बिक्री गर्ने रहेको बताउनु भयो। 

उहाँले देशभरका विद्युतका पोल तथा तार स्तरीकरण गर्न लागेको बताउनुहुँदै धनकुटाका पनि त्यसमा पर्ने बताउनु भयो। फरक प्रसङ्गमा मन्त्री खड्काले अघिल्ला सरकार अस्थिर हुँदा जनताको सोच अनुसारको काम नहुँदा दुई ठूला दल मिलेर सरकार बनाउन नेताहरूमा सोच आएकोले यो सरकार आगामी निर्वाचनसम्म रहिरहने बताउनु भयो। 

गृहजिल्ला सङ्खुवासभा पुगेर फर्कनुभएका मन्त्री खड्काले धनकुटामा पार्टी कार्यकर्ता भेटघाटसँगै जिल्ला प्रशासन कार्यालय धनकुटाको अनुगमन पनि गर्नु भएको थियो। सो अवसर स्थानीय जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताले धनकुटाको विकासको लागि विभिन्न मागहरू मन्त्री खड्कालाई बुझाएका थिए। मन्त्री खड्काले आएका सबै मागको अध्ययन गरेर सकेको सबै पुरा गर्ने र नसकेको जानकारी गराउने बताउनु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button