तपाईँ सुन्दै हुनुहुन्छः

आठ वर्ष पछि बन्यो शारदा नदीमा पक्की पुल 

सल्यान । निर्माण थालनी गरेको झन्डै ८ वर्ष पछि सल्यान छत्रेश्वरी गाउँपालिका ६ र ७ लाई जोड्ने शारदा नदी माथिको पक्की पुल सम्पन्न भएको छ । ठेकेदार कम्पनीको चरम लापरवाही र कोरोना महामारीले तोकेको समय भन्दा सात वर्ष पछि पुल निर्माण सम्पन्न भएको हो । सात पटक म्याद थप गरेपछि शारदा नदीमा पुल निर्माण भएको छ ।
सडक डिभिजन कार्यालय दाङले पक्की पुल निर्माणको लागि २०७३ अन्तिममा ठेक्का आह्वान गरेको थियो । ७० मिटर लम्बाई रहेको पक्की पुलको लागि उक्त कार्यालयले झन्डै ७ करोड बजेट विनियोजन गरेको थियो । पुल निर्माणको कामको जिम्मेवारी एसबीए सूर्य जेभीले पाएको थियो । एसबीए सूर्य जेभी २०७४ असार २१ देखि काम सुरु गरेको थियो ।
२०७६ असार २० गते सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले लापरबाही गरेको र विभिन्न किसिमका जटिलताले गर्दा सम्पन्न हुन ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी उज्ज्वल कुमार झाले बताउनु भयो  । उहाँका अनुसार लामो समय काम नगरेको ठेकेदारलाई कारबाही गर्दा तथा ठेक्का तोड्दा योजनाको काम अगाडि बढ्न नसक्ने, तत्काल नयाँ व्यवस्थापन गर्न गाह्रो हुने र सरकारी बजेट समेत खेर जाने भएकाले नियमावली संशोधनसँगै योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद थप गर्नु परेको हो ।
ठेकेदार कम्पनीले २०७६ असार २२ मा सम्पन्न गर्नु पर्नेमा ढिलै भएपनि पुलको काम सम्पन्न भएपछि राप्ती लोकमार्ग हुँदै छत्रेश्वरी गाउँपालिका  ३ र ४ दारिमज्युला, झिम्पे, खर्सुबास जान स्थानीयलाई सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button