तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय झापाद्वारा ९३ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा) । यातायात व्यवस्था कार्यालय झापाले आर्थिक वर्ष २०८०/०८१ मा ९३ करोड २१ लाख ६६ हजार ८१३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले आ.व. २०७९/०८० को तुलनामा पाँच करोड १४ लाख ७९ हजार ५६६ रुपैयाँ बढी राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आ. व. ०८०/०८१ मा २० हजार ६३ सवारी दर्ता, १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण र ११ हजार ४४१ सवारी जाँचपास र ५३४ रुट पर्मिटबापत सो राजश्व सङ्कलन भएको हो ।
आ.व. ०८०/०८१ मा सबैभन्दा धेरै सात हजार ५१५ मोटरसाइकल दर्ता हुँदा एक हजार ७०५ इ–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यसैगरी, १५६ बस, १० मिनी बस, १८ माइक्रोबस, १६० जीप, २७० कार, १३६ भ्यान, १२९ पिकअप, १४५ ट्याक्टर, ७८ ट्रक, १४ मिनीट्रक र १४ वटा टिपर दर्ता भएका छन् ।
निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button