तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध मधेशका लागि शिक्षाको विकास आवश्यक : मन्त्री यादव

बीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले समृद्ध मधेश निर्माणका लागि शिक्षाको विकास हुनुपर्ने बताउनुभएको छ ।

बीरगंज महानगरपालिकाको वडा नम्बर ३० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका किशोरीहरूलाई वडा समितिको आयोजनामा कम्प्युटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेसको शैक्षिक अवस्था माथि उकास्न बीरगंज महानगरपालिकाले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले मधेशमा शिक्षासँगै स्वास्थ्यको अवस्था समेत नाजुक रहेको, शिक्षा र स्वास्थ्यको स्तर माथि उकासे मात्र समृद्ध मधेसको सपना साकार हुने दाबी गर्नुभयो ।

कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बीरगंजको शैक्षिक क्षेत्रमा राजनीति हाबी हुँदा विभिन्न विकृति विसङ्गति बढ्दै गएको बताउँदै महानगरपालिकाले शिक्षामा भई रहेको राजनीतिकरणको अन्त्य गर्ने दाबी समेत गर्नुभयो ।

उहाँले शिक्षाका माफियाहरूलाई कारबाही गर्दा राजनीतिक दल तथा तिनका भातृ सङ्गठनले सहज रुपमा काम गर्न नदिएको गुनासो गर्दै आफू कसैको दबाब र प्रभावमा नपरी शिक्षा क्षेत्रमा देखिएको विकृति अन्त्य गरेरै छाडने दाबी गर्नुभयो ।

सो अवसरमा बीरगंज महानगरपालिकाको वडा नम्बर ३० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका २६ जना छात्राहरूलाई कम्प्युटर सेट वितरण गरिएको थियो ।

त्यसैगरी, सो अवसरमा शिक्षक सेवा आयोगको परीक्षा पास गरेर हाल सामुदायिक विद्यालयमा अध्यापनरत उक्त वडाकै शिक्षक द्वय प्रेमलाल साह र नईम मियाँलाई १÷१ थान ल्यापटप वितरण गरिएको थियो ।

सो अवसरमा खानेपानी मन्त्री प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै लालपर्सास्थित स्वास्थ्य चौकीमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई १/१ थान स्मार्टफोन पुरस्कार स्वरूप प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा वडा नम्बर ३० का अध्यक्ष मनोज यादवले मधेशका छोरी चेलीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्न कम्प्युटर वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद, जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगन्ज महानगरको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button